 नेपालको प्रजातान्त्रिक आन्दोलनका शिखर योद्धा, पूर्वप्रधानमन्त्री एवम् नेपाली काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको निधन भएको खबरले नेपाली जनता अत्यन्त मर्माहत भएका छन् ।
नेता कोइरालाको ८७ वर्षको उमेरमा शनिबार मध्याहृन १२ बजेर १० मिनेटमा उहाँकी सुपुत्री सुजाता कोइरालाको निवास, मण्डीखाटारमा निधन भएको हो । विगत नौ घन्टादेखि अचेत अवस्थामा रहनुभएका कोइरालाको मध्याहृन निधन भएको नेपाली काङ्ग्रेसको सोही निवासमा बसेको आपतकालीन बैठकले अपराहृन १:४५ बजे औपचारिक घोषणा गरेको हो ।
लामोसमयदेखि स्वासप्रश्वासको रोगबाट पीडित सभापति कोइरालाको आजै अचेत अवस्थामै निधन भएको जानकारी गराइएको हो ।
मुलुकमा प्रजातन्त्र पुनःस्थापना भएपछि गत वैशाख १४ गते छैटौँपटक प्रधानमन्त्री बन्नुभएका कोइराला वि.सं.२०४८ जेठदेखि वि.सं.२०५१ मङ्सिरसम्म प्रथम निर्वाचित प्रधानमन्त्री हुनुभएको थियो । उहाँ त्यसपछि २०५४ साल चैत ३० गते, २०५५ पुस १० गते र २०५७ चैत ७ गते प्रधानमन्त्री हुनुभएको थियो ।
सात राजनीतिक दलको सर्वसम्मत निर्णयका आधारमा तत्कालीन राजा ज्ञानेन्द्रबाट नेपाली काङ्ग्रेसका सभापति तथा नेपाली काङ्ग्रेस संसदीय दलका नेता कोइरालालाई प्रधानमन्त्री पदमा नियुक्त गरिएको थियो ।
नेपालका प्रख्यात गान्धीवादी नेता एवम् समाजसेवी कृष्णप्रसाद कोइरालाका पाँच सुपुत्रमध्येका कान्छा छोरा पूर्वप्रधानमन्त्री कोइरालाका दुई दाजु मातृकाप्रसाद कोइराला र विश्वेश्वरप्रसादं कोइराला नेपालको प्रधानमन्त्री हुनुभएको थियो ।
पूर्वप्रधानमन्त्री कोइराला पारिवारिक राजनीतिक वातावरणका कारण सानै उमेरमा राजनीतितर्फ आकषिर्त हुनुभएको थियो । उहाँको राजनीतिक जीवनको सुरुवात विराटनगर जुटमिलमा मजदुर नेताका रुपबाट सुरु भएको हो ।
वि.सं. १९८६ मा पिता कृष्णप्रसाद कोइराला आफ्नो निर्वासनबाट स्वदेश फर्केपछि पूर्वप्रधानमन्त्री कोइरालाले आदर्श हाइस्कुल विराटनगरमा प्रारम्भिक शिक्षा हासिल गर्नुभएको थियो । त्यसपछि उहाँले त्रिचन्द्र क्याम्पस र पछि बनारस हिन्दु विश्वविद्यालयमा उच्चशिक्षा हासिल गर्नुभएको थियो ।
विराटनगरमा वि.सं. २००३ फागुन २० गते सुरु भएको ऐतिहासिक जुटमिल हडतालको नेतृत्व गर्ने मजदुरनेता कोइराला विराटनगर मजदुर युनियनका सर्वसम्मत अध्यक्ष चुनिनुभयो । उहाँले नेपाल ट्रेड युनियन काङ्ग्रेसका संस्थापक सदस्य र सभापति भई काम गर्नुभएको थियो ।
सात सालको जनक्रान्ति सफल भएपछि उहाँ सङ्गठन कार्यमा लाग्नुभयो र सोही वर्ष नेपाली काङ्गे्रस मोरङ जिल्ला समितिको सभापति पनि हुनुभएको थियो ।
वि.सं. २०१७ मा प्रजातन्त्र अपहरण गरिएपछि तत्कालीन प्रधानमन्त्री बीपी कोइराला, नेकांका नेताहरू गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई तथा थुप्रै काङ्ग्रेसी कार्यकर्ताका साथ श्री कोइराला पनि जेल पर्नुभयो ।
एक्काईस दिनको अनशनपछि वि.सं. २०२४ मा कारागारबाट मुक्त गरिँदा उहाँले सात वर्षको बन्दी जीवन बिताइसक्नुभएको थियो ।
कारागारबाट रिहा हुनेबित्तिकै सन् १९७१ मा आमनिर्वासनमा उहाँ भारततर्फ प्रस्थान गर्नुभयो ।
निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्धको लामो सङ्घर्षमा होमिने हजारौँ काङ्ग्रेसी योद्धाका लागि गिरिजा दाजु प्रेरणास्रोत हुनुभयो । सानुबुबा का नामबाट कोइराला परिवारमा उहाँ सुपरिचित हुनुहुन्थ्यो ।
जननायक बीपी कोइरालाले वि.सं. २०३३ मा राष्ट्रिय मेलमिलापको नीति लिएपछि ऐतिहासिक जनमतसङ्ग्रहको केही साताअघि आममाफी पाएर उहाँ स्वदेश र्फकनुभयो ।
पार्टीका कुशल सङ्गठनकर्ता श्री कोइराला नेपालमा प्रजातन्त्रको पुनःस्थापनाका लागि अरू काङ्ग्रेसी नेताहरूसँग काम गर्दै आउने क्रममा अनेकौँँ पटक कारावास र नजरबन्दमा पर्नुभएको थियो ।
सन् १९८५ को सत्याग्रह तथा ऐतिहासिक जनआन्दोलन २०४६ मा श्री कोइरालाको निणर्ायक भूमिका रहृयो ।
वि.सं. २०४८ मा सम्पन्न आमनिर्वाचन, वि.सं. २०५१ मा सम्पन्न मध्यावधि निर्वाचन र वि.सं. २०५६ मा सम्पन्न आमनिर्वाचनमा उहाँ मोरङ क्षेत्र नं. १ र सुनसरी क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।
भूतपूर्वप्रधानमन्त्री कोइरालाको जन्म सन् १९२५ मा भारत सहर्सा जिल्लाको टेडियामा उहाँका पिता कृष्णप्रसाद कोइराला राजनीतिक निर्वासनमा रहनुहुँदा भएको थियो ।
विंस. २०५९ असोज १८ गते तत्कालीन प्रतिनिधिसभाको विघटन गरी राजा ज्ञानेन्द्रको सक्रियतामा संसद बाहिरका व्यक्तिको अगुवाइमा सरकार गठन गरेपछि र वि.सं. २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रद्वारा नै सरकारको अध्यक्षता गरी निरङ्कुश शासनको सुरुआत गरेपछि नेता कोइरालाले २०५६ सालको निर्वाचित संसद पुनःस्थापना गर्ने एकमात्र माग राखी शाही शासनका विरुद्ध आन्दोलनको अगुवाइ गर्नुभएको थियो ।
तत्कालीन सात राजनीतिक दल र सशस्त्र द्वन्द्वमा रहेको नेकपा -माओवादी)लाई समेत शान्तिपूर्ण राजनीतिमा ल्याउने वचनबद्धताका साथ आठ राजनीतिक दलको अभिभावकका हैसियतले २०६२ मङ्सिर ७ गते १२ बुँदे सम्झौता गराई राजतन्त्रविरुद्धको लोकतान्त्रिक आन्दोलनमा होमिने र त्यसको नेतृत्व लिने जस पनि नेपालको राजनीतिक इतिहासले नेता कोइरालालाई नै दिएको छ ।
वि.सं. २०६२ चैत २४ देखि निरङ्कुश राजतन्त्रका विरुद्ध १९ दिने आन्दोलनपश्चात् २०६३ साल वैशाख ११ गते अन्ततः राजा ज्ञानेन्द्रको शाही शासन अन्त्य गराई संसदको पुनःस्थापनामार्फत नेपाली लोकतान्त्रिक प्रणालीको थालनी उहाँकै प्रधानमन्त्रीत्वबाट सुरु भएको थियो ।
सशस्त्र द्वन्द्वमा रहेको माओवादीलाई शान्तिपूर्ण आन्दोलनमा ल्याउने र पुनःस्थापित संसदमार्फत राजशाहीको अन्त्य गर्ने एकमात्र मिलनविन्दुका रूपमा अघि सारिएको संविधानसभाको निर्वाचनको अभियान पनि उहाँको नेतृत्वबाट सुरु भयो र अन्ततः नेपाली इतिहासमा विगत छ दशकदेखि थाँती रहेको संविधानसभाको निर्वाचन २०६४ चैत २८ गते सम्पन्न भयो ।
यसअघि विस्तृत शान्तिसम्झौतामा हस्ताक्षर गरी तत्कालीन सरकार प्रमुखका तर्फबाट आफूले र विद्रोहीका तर्फबाट माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा जारी दशवर्षे सशस्त्र द्वन्द्वको अन्त्य भएको घोषणा गर्नुभएको हो । शान्तिप्रक्रियालाई यहाँसम्म ल्याउन उहाँको विशेष योगदान रहेको थियो ।
संविधानसभाको पहिलो बैठकमार्फत २०६५ जेठ १५ गते २४० वर्षको राजतन्त्रात्मक शासन प्रणालीबाट मुलुक पहिलोपटक गणतन्त्रात्मक शासन प्रणालीमा प्रवेश गर्यो । त्यसपछि मुलुकमा राष्ट्रपतिको निर्वाचन भई २०६५ साउन ८ गते पहिलो राष्ट्रपति डा.रामवरण यादवको घोषणा हुनुअगाडिसम्म उहाँले मुलुकको कार्यवाहक राष्ट्रप्रमुखको समेत जिम्मेवारी सम्हाल्नुभएको थियो ।
संविधानसभाको निर्वाचनमा आफ्नो दल नेपाली काङ्ग्रेसले दोस्रो ठूलो राजनीतिक दलको हैसियत प्राप्त गरेपछि निर्वाचनामार्फत सबैभन्दा ठूलो दलका रूपमा स्थापित तत्कालीन नेकपा -माओवादी) लाई त्यसै सालको भदौमा सत्ता सुम्पी उहाँले राजनीतिक अभिभावकको भूमिका निर्वाह गर्नुभएको थियो ।
वि.सं. २०६७ जेठ १४ गतेसम्ममा संविधानसभा एवम् नेपालको अन्तरिम संविधान, २०६३ अनुरूप नयाँ संविधानको निर्माण र माओवादी लडाकू एवम् हतियारको समायोजन हुन नसक्ने गुनासो व्यापकरूपमा उठेपछि पहिलो ठूलो दल एकीकृत नेकपा (माओवादी) र तेस्रो ठूलो राजनीतिक दल नेकपा -एमाले) का शीर्षनेताको सहभागितामा उच्चस्तरीय राजनीतिक संयन्त्रको गठन गरी त्यसको नेतृत्व पनि उहाँले नै गर्नुभएको थियो ।
उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्न नेता कोइरालाको पार्थिव शरीरलाई भोलि बिहान ८ बजे दशरथ रङ्गशालामा राखिने निर्णय नेपाली काङ्ग्रेसको आज बसेको केन्द्रीय समितिको आपतकालीन बैठकले गरेको छ । आइतबार अपराहृन २ बजे शवयात्रा गरिनेछ । उहाँको आइतबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ ।
-----------------------------------------------------------------
शब्दचित्रमा स्व.सभापति कोइराला
नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको देहवसान भएको छ। दिउँसो १२ बजेर ११ मिनेट जाँदा कोइरालाको देहवसान भएको हो।
राणा प्रधानमन्त्री चन्द्र शम्सेरले पिता कृष्णप्रसाद कोइरालालाई राजद्रोहको मुद्दा लगाई सर्वस्व हरणसहित देश निकाला गरेपछि ४५ जनाको परिवारसहित भारतको बनारस निर्वासनमा पुगेको कोइराला परिवार वि.सं. १९७५ मा भारतीय विहार राज्यको सहरसा जिल्लाको टेडीमा पुगेको थियो। त्यहीँ जन्मनु भएको थियो नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला ।
गिरिजाप्रसाद कोइराला गर्भमा रहेका बेला मातापिता गिरिजादेवीको मन्दिरमा जाने गर्नुहुन्थ्यो। र उहाँहरुको सन्तान जे जन्मिए पनि गिरिजाप्रसाद या गिरिजादेवी राख्ने सल्लाह अनुसार उहाँको नाम गिरिजाप्रसाद राखिएको थियो।
कोइराला परिवारको आयस्रोत खेतीपाती थियो। चन्दशम्सेरको मृत्युपछि पिता कृष्णप्रसाद कोइराला वि.सं. १९८६ मा विराटनगर फर्कनु भयो। त्यतिबेला गिरिजाप्रसाद कोइराला ५ वर्षको मात्र हुनुहुन्थ्यो। पछि वि.सं. १९०३ साल असोज २ पिता कृष्णप्रसाद कोइरालाले राणा शासन विरुद्ध विराटनगरबाट जनताका थोत्रा कपडा हुलाकमार्फत पठाएपछि राजविद्रोहको मुद्दा लगाई सर्वस्व हरणसहित पूर्ण देश निकाला गरेको थियो।
पिता कै प्रेरणाबाट राणा शासन विरोधी भावना जन्मिएको थियो सभापति गिरिजाप्रसाद कोइारालामा । त्यसैले उहाँ २३ वर्षको उमेरदेखि नै आन्दोलनको नेतृत्व गर्ने तहमा पुग्नुभयो। २३ वर्षको उमेरमा नै विराटनगर जुटमिलमा चर्किएको आन्दोलनको नेतृत्व गर्नुभएको थियो। गिरिजाप्रसाद कोइरालाले । सन् १९४८ मा त उहाँ नेपाल ट्रेड युनियन कांग्रेसको संस्थापक अध्यक्ष नै बन्न भयो। सन् १९५२ देखि १९६० सम्म नेपाली कांग्रेसको मोरङ जिल्ला सभापति बन्नु भएका कोइरालालाई सन् १९६० मा पक्राउ गरी ७ वर्ष सम्म जेल हालियो। उहाँले त्यतिबेला जेलमा नै २१ दिने भोकहड्तालसमेत गर्नुभयो।
जेलबाट छुटेपछि भारत पुग्नुभएका कोइराला ११ वर्षपछि विपीसँगै मेलमिलापको नीति लिएर नेपाल फर्कनुभयो। सन् १९७५ देखि ९१ सम्म पार्टीका महामन्त्री बन्नुभएको थियो गिरिजाप्रसाद कोइराला । २०३९ साल साउन ६ गते विपी कोइरालाको निधनपछि पार्टी गिरिजाप्रसाद कोइरालासहित गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको सामुहिक नेतृत्वबाट अगाडि बढेको थियो।
२०४८ सालको चुनावपछि जेठ १६ गते बनेको सरकारमा तत्कालीन महामन्त्री गिरिजाप्रसाद कोइराला नै प्रधानमन्त्री हुनुभयो। त्यसपछि २०५३ साल बैषाख २९ गते काठमाडौंमा सम्पन्न कांग्रेसको ९ औं महाधिवेशनबाट सभापतिमा गिरिजाप्रसाद कोइराला निर्वाचित हुनुभयो। २०५७ साल माघ ९ गते कांग्रेसको दशौं महाधिवेशन कास्कीको पोखरामा सम्पन्न भयो। सो महाधिवेशनबाट गिरिजाप्रसाद कोइराला पुनः पार्टी सभापतिमा निर्वाचित हुनभयो। २०६२ साल भदौ १४ गतेदेखि १७ सम्म ललितपुरमा भएको ११ औं महाधिवेशनमा पनि गिरिजाप्रसाद कोइराला सभापतिमा पुनः निर्वाचित हुनुभयो।
जनआन्दोलन सफल भएपछि पनि गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बन्नुभयो भने उहाँ १३ वर्षदेखि नै नेपाली कांग्रेसको सभापति हुनुहुन्छ। दिल्लीमा भएको बाह्र बुँदे समझदारीदेखि शान्ति सम्झौता हुँदै नेपालको शान्ति प्रक्रियामा महत्वपूर्ण भूमिका रहेको छ ८७ वर्षीय कोइरालाको। नेपाली प्रजातान्त्रिक आन्दोलनमा अग्रज तथा पहिलो विराटनगर मजदुर आन्दोलनका नेता गिरिजाप्रसाद कोइरालाले निरंकुश राणा शासन विरुद्ध पञ्चायती व्यवस्था विरुद्धको जनआन्दोलन र २०६२/६३ को लोकतान्त्रिक आन्दोलनमा अग्रणी भूमिका निर्वाह गर्नुभयो कोइरालाले । लोकतन्त्र प्राप्तिपछि भारतीय प्रधानमन्त्री मनमोहन सिंहबाट एसियाकै महान नेताको सम्मान पाउनुभएका कोइराला १० वर्ष लामो युद्ध गरेको माओवादीलाई शान्तिप्रक्रियामा ल्याउन महत्वपूर्ण स्थानमा रहेर काम गर्नुभयो। संसारमै शाम्यवादी आन्दोलन शंकटमा रहेको चर्चाकाबीच पनि कोइरालाले शसस्त्र युद्धमा रहेको पार्टीलाई शान्ति प्रक्रियामा ल्याउन सफल हुनुभएकाले पनि उहाँको नाम विश्वमा चर्चित छ।
२०४६ को जनआन्दोलपछि नेपालमा कम्युनिष्टप्रति कडा रुपमा प्रस्तुत हुने कोइरालाको छवि कम्युनिष्ट विरोधीको रुपमासमेत चर्चामा थियो। २०४६ सालको जनआन्दोलनपछि दशकमा उहाँको नाम कम्युनिष्ट विरोधीकै पर्यायकै रुपमा आउने गरेको थियो।
माओवादी युद्धको सुरुमा माओवादीलाई निस्तेज पार्न कोइरालाले चालेको कदमका कारण उहाँ त्यतिबेला कम्युनिष्टका लागि अनुदार व्यक्तिका रुपमा चिनुनुभयो। तर २०६२ सालमा भने उहाँ युद्ध लडिरहेको कम्युनिष्ट पार्टीसँग समेत हातेमालो गर्न पुग्नुभयो। युद्धकालमै माओवादीसँग राजतन्त्र विरुद्ध सहमति गरेपछि नेपाली कांग्रेसभित्रैसमेत कोइरालाको कडा आलोचना भयो। तर कोइरालाको व्यक्तित्व अगाडी त्यो विरोध गलत बन्यो । पहिले राजतन्त्रका समर्थक कोइरालाले नै डेढ सय वर्ष पुरानो राजतन्त्रका विरुद्ध आन्दोलनको अगुवाई गर्नुभएको थियो। राजतन्त्रको पतनपछि लोकतन्त्र स्थापना भइसकेपछि पनि कोइरालाले नेपाली राजनीतिको केन्द्र भागमा हुनुहुन्छ।
८६ वर्षीय कोइराला विगत लामो समयदेखि अस्वस्थ हुँदै आए पनि नेपाली राजनीतिप्रति उहाँ अत्यन्तै चिन्तित हुनुहुन्थ्यो। उहाँ पटक-पटक भावुक बन्ने गर्नुहुन्थ्यो। वर्तमान राजनीतिक परिस्थिति देखेर उहाँ चिन्तित हुनुहुन्थ्यो।
from; freenepal

|